अध्यक्षले राजीनामा दिएपछि काठमाडौ-कुलेखानी-हेटौंडा सुरुङ मार्गका लगानीकर्ता अन्योलमा

नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष जोशीले  किन दिए राजीनामा ?
हेटौंडा: काठमाडौं-कुलेखानी-हेटौंडा सुरुङ मार्गका लगानीकर्ता नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष कुशकुमार जोशीले राजीनामा दिएपछि अन्योलमा परेका छैन्। सेयर सदस्यले जोशीलाई सुरुङमार्ग अलपत्र नछाड्न आग्रह गरेका छन्।


सुरुङमार्गमा नौलाख रुपैयाँ लगानी गरेका हेटौंडाका नरोत्तम दाहालले भने, ‘हामीले कुशकुमारको विश्वासमा लगानी गरेका हौं, राजनीमा दिएर भाग्न पाइँदैन, यदि नबन्ने नै हो भने पैसा फिर्ता गर्नुपर्‍यो।' सुरुङमार्ग निर्माणका लागि लगानी जुटाउन नसक्दा चौतर्र्फी आलोचना खेप्दै आएका जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट आइतबार राजीनामा दिएका थिए।

सुरुङमार्ग निर्माण हुने संकेत नदेखिएको भन्दै अधिकांश सेयर सदस्यले लगानी फिर्ता गर्न माग गरेका छन् । तत्काल निर्माण थाल्न माग गर्दै उनीहरूले निर्माण नहुने भए लगानी फिर्ता गर्न माग गरेका हुन्।'हामी यतिखेर अन्योलमा परेका छौं।

अहिलेसम्मको गतिविधि हेर्दा सुरुङमार्ग बन्ला जस्तो लाग्दैन', १० हजार लगानी गरेका कुलेखानीका काजेन्द्र परियारले भने, 'बन्ने हो भने आधार दिनुपर्‍यो राजीनामा दिएर भागेर सुख पाइँदैन। अन्यथा आफूभन्दा गर्नसक्ने मान्छेलाई जिम्मेवारी दिनुपर्यो।' सिस्नेरी गाविसका कृष्णकुमार ठकुरीले आफूले १० हजार लगानी गरेपनि बन्ने आधार नदेखेपछि सेयर फिर्ता लिएको बताए।
सुरुङमार्ग निर्माण हुने संकेत नदेखिएको भन्दै अधिकांश सेयर सदस्यले लगानी फिर्ता गर्न माग गरेका छन्।       
सञ्चालक सदस्य रहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले राजीनामा निकास नभएको बताए। 'माघ २७ गते यसबारेमा सञ्चालक समितिको बैठक बोलाएको छ । अन्योलको अवस्थामा सेयर धनीहरूलाई राख्नुभएन', उनले भने।

संघले १० लाख रुपैयाँ लगानी गरेको छ। मकवानपुरको गौरबको योजना भन्दै जिल्ला विकास समिति, हेटौंडा उपमहानगरपालिका, नारायणी यातायात व्यवसायी संघले समेत १०/१० लाख रुपैयाँ लगानी गरेका छन्।

सुरुङमार्ग निर्माणमा मकवानपुरबाट मात्र करिब १० करोड रुपैयाँ लगानी भएको सेयर सदस्य कृष्ण कटवालले बताए। तीमध्ये कुलेखानी गाविसका एक सय एक जनाले १५ लाख ९० हजार, भीमफेदी गाविसका ८९ जनाले २० लाख ५० हजार र सिस्नेरी गाविसका २६ जनाले १३ लाख रुपैयाँ लगानी गरेका छन्। बाँकी हेटौंडावासी र संघ संस्थाको लगानी छ।

सुरुङमार्ग निर्माणको नाममा सोझा जनता ठगेको भन्दै खबरदारी गर्दै आएका नेकपा माले मकवानपुरका सचिव भीमसेन महतले सम्पूर्ण सोझा जनताको पैसा फिर्ता नगरी राजीनामा स्वीकृत गर्न नहुने बताए।'कि जोशीले सेयर फिर्ता गर्नुपर्यो होइन भने अब बन्ने अध्यक्षले फिर्ता गर्ने ग्यारेन्टी गर्नुपर्‍यो', उनले भने, 'जोशीलाई राजीनमा दिन लगाएर अहिलेसम्म भएको आर्थिक अनियमितता ढाकछोप गर्न लागिएको छ।'

कम्पनीकै पूर्वबोर्ड सदस्य तथा संघर्ष समितिका संयोजक राजुमान महर्जनले भने अध्यक्ष जोशीको राजीनमा नै सुरुङमार्ग निर्माणको निकास भएको बताए। 'सन् २०१६ को डिसेम्बरसम्म निर्माण सकाउनुपर्ने योजना अहिलेसम्म सुरु नै भएको छैन। उहाँले सुरुङमार्गलाई प्रयोग गरेर आफू बन्ने काम गर्नुभयो', उनले भने, 'जोशीभन्दा सक्षम र लगानी गर्न सक्ने व्यक्ति सुरुङमार्ग निर्माणको नेतृत्व लिन तयार छन्।'

सरोकार तथा समन्वय समिति गठन
हेटौंडामा मंगलबार उपलब्ध सेयर सदस्यहरूको बैठकले जीवनकाजी मकाजुको संयोजकत्वमा सरोकार तथा समन्वय समिति गठन गरेको छ। 'यो समितिले संघर्ष समिति र बोर्डका बीच समन्वय गर्छ', समितिका सदस्य कृष्ण कटवालले भने, 'अध्यक्षले किन राजीनमा दिए। अब यसको भविष्य के हुने हामी खोजीमा गर्छौं।'

तीन वर्षअघि चार वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने सम्झौता गरी भौत्तिक योजना तथा निर्माण मन्त्रालयसँग कम्पनीले निर्माण अनुमति लिएको थियो । ५८ किलोमिटरको यो परियोजनाको सुरु लागत ३४.८७ अर्ब अनुमान गरिएको थियो। यसमा १७ सयभन्दा बढी व्यक्ति र संस्थाले करिब ३० करोड रुपैयाँ लगानी गरिसकेका छन्