भारतीय भुमीमै भारतलाई धुलो चटाउँदै घुँडा टेकाउने यी हुन नेपाली नवयुग



गोल मेसिन
एक महिनामा तीन वटा ह्याट्रिक गरेका नवयुग गत महिना बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकपका पनि हिरो थिए । टुर्नामेन्टकै सर्वाधीक गोलकर्ता र मोस्ट भ्यालुएवल प्लेयर भएका नवयुगले सागमा पनि सर्वाधिक गोल गरे । सागमा उनले दुई वटा ह्याट्रिक गरे ।


यसै वर्षको भदौमा पुनेमा भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पहिलोपटक नेपाली राष्ट्रिय टिमबाट खेलेका नवयुग नेपाल आर्मीको त्रिभुवन क्लबका खेलाडी हुन् ।

पाँच फिट ६ इन्च अग्ला नवयुग छरिता फुटबलर हुन् । सानो जीउडालका भएकाले पनि उनी निक्कै फास्ट खेल्छन् । उनको स्कोरिङ पनि राम्रो छ । विशेषगरी पेनाल्टी क्षेत्रनजिकबाट उनले लोभलाग्दा गोल गर्ने गरेका छन् । राष्ट्रिय लिग २०७२ मा फरवार्डको भूमिका उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टिममा स्थान पाएका हुन् । उनले राष्ट्रिय लिगमा सर्बाधिक १४ गोल गरेका थिए ।

प्रशिक्षक ध्रुव केसीले उनलाई जगजित श्रेष्ठको स्थानमा विङ्सबाट खेलाउँदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गराएका थिए । त्यसबेला नवयुगले भनेका थिए, ‘अब चाहि फरवार्डको भूमिकामा राष्ट्रिय टिमबाट खेल्न पाउने आस छ ।’ नेपालको गोलको खडेरी तोड्ने प्रयासमा बेल्जियन प्रशिक्षक प्याट्रिक ओसेम्सले उनको खुबी पहिचान गर्दै फरवार्डको भूमिकामा खेलाइहाले । राम्रो प्रदर्शन गरेपनि उनले यसअघिका ६ खेलमा गोल भने गर्न सकेका थिएनन् ।

मंगलबारेदेखि स्वर्ण पदकसम्म
इलामस्थित मंगलबारेका नवयुगले पोखरा–बुटवलमा २०६८ मा भएको राष्ट्रिय लिगमा सर्बाधिक ७ गोल गरेका थिए । त्यसबेला उनी फरवार्डको भूमिकामा मात्र थिएनन्, आर्मीका प्रशिक्षक योगम्बर सुवालले अट्याकिङ मिडफिल्डरको रुपमा पनि प्रयोग गरेका थिए । मिडफिल्डमा पनि राम्रै प्रदर्शन गर्दै आएपनि उनी कहिल्यै राष्ट्रिय टिममा परेका थिएनन् । यसपाली राष्ट्रिय लिगमा गरिएको प्रदर्शनले उनलाई चर्चा दिलाउँदै राष्ट्रिय टिमसम्मै पुर्यािएको हो । ‘उनमा गजबको स्कोरिङ क्षमता छ, जुन अहिलेका नेपाली फरवार्डमा कमै पाइन्छ,’ आर्मीका प्रशिक्षक मेघराज केसीले

नवयुगले राष्ट्रिय लिगमा पुलिसविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेका थिए । तीनै गोल आकर्षक थिए । पोखरामा चार वर्षअघि भएको राष्ट्रिय लिगमा संगम क्लबलाई ५–१ ले हराउँदा उनी एक्लैले चार गोल गरेका थिए । २०६८ को राष्ट्रिय लिगपछि उनको प्रदर्शन औसत रह्यो ।

उनको भूमिका पनि एउटै थिएन, कहिले अट्याकिङ मिडफिल्डर त कहिले फरवार्ड । दुई वर्षयता बल्ल उनले चर्चित् फरवार्ड भारत खवाससँगै आर्मीको अग्रपंक्तिमा खेल्ने अवसर पाएका हुन् । यसवीच उनी चर्चामा नरहेपनि मैदानमा छाइरहेकै थिए ।

सानैदखि फरवार्डको भूमिकामा खेल्ने उनी २०६०–६१ को जिविस कपमा सहभागि हुन काठमाडौं आएका थिए । त्यसमा उनको टिम इलाम च्याम्पियन नै भयो । ‘त्यसैबेला खेलाडी बन्छु भन्ने लाग्यो,’ उनले भने, ‘एकचोटी न एकचोटी राष्ट्रिय टिमको जर्सी लगाउने सपना पाल्न थाले ।’

उनको खेल यू–१४ जिविस कप जितेपछि राम्रो हुन थालेको थियो । ‘इलाममै दुई साता ट्रेनिङ गरेपछि जिविस कप खेलेका थियौं । यसैले मेरो स्तर बढायो,’ उनले भने । स्थानीय त्रिवेणी युवा क्लबबाट भारतको सीमावर्ती मिरिक र दार्जिलिङमा खेल्दा टिमको सबभन्दा कान्छो खेलाडी उनी नै हुन्थे ।

झापाका फरवार्ड विशाल राई ‘ए’को खुबै प्रशंसा गर्ने उनी प्रवेशिका परीक्षापछि राजधानीको लिग खेल्ने धुनमा उनी क्लबहरु चहार्न थाले । उनले एपीएफमा ४५ दिन ट्रेनिङ गरे । ‘सी’ डिभिजन खेल्न टोखा क्लबसँग पनि अभ्यास गरे । तर, उनी एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पा आफैले भनेपछि ‘बी’ डिभिजन खेल्न पाउने आसमा टोखाबाट नखेल्दै हिमालयन शेर्पा क्लबमा पुगेका थिए ।


हिमालयन शेर्पा ‘बी’ डिभिजन लिग उपविजेता हुदै ‘ए’ डिभिजनमा उक्लियो तर नवयुगले त्यहाँ मैदानमा ओर्लने अवसर नै पाएनन् । उनले खेल्न पाउने आसमा सँधै बेन्चमा बिताए । त्यसबेला उनको खेल राम्रो स्तरको पनि थिएन । ‘मभन्दा राम्रा खेलाडीहरु टिममा थिए र उनीहरु खेलेकोमा नै चित्त बुझाउनुपथ्र्यो,’ उनले भने । ‘बी’ डिभिजन सकेपछि उनी घर फर्किए । उनी साथी सरोज श्रेष्ठसँगै नेपाली सेनामा भर्ती हुन धनकुटा पुगे । उनी पास भए, सरोज भएनन् ।

आर्मीमा बनेको करिअर
२०६५ सालमा भर्ती भएपछि दुई नम्बर बाहिनी हिलेमा सैन्य तालिम गर्दागर्दै नवयुगलाई पृतना ट्रफि खेल्न इटहरी पठाइयो । त्यसमा उनको टिम च्याम्पियन भयो । उनले राम्रो खेलेका थिए । त्यसबेला त्रिभुवन आर्मी क्लबले पनि राम्रो खेलाडी खोजीरहेको थियो । त्यसैले उनलाई सैन्य तालिमपछि सीधै क्लबमा काठमाडौं पठाइयो ।

उनी तत्कालीन प्रशिक्षक डम्बरसिंह गुरुङको नजरमा परिहाले । त्यही बेला मिडफिल्डर सन्तोष नेपाली शान्ति सेनामा बिदेश गएका थिए । त्यसैले उनले ‘प्लेइङ सेट’मै रहेर सहिद स्मारक ‘ए’ डिभिजन लिग २०६६–६७ मा डेब्यू गरे । उनको फुटबल करिअर त्यहीबाट उकालो लागेको हो ।

सन्तोष फर्केपछि अर्का मिडफिल्डर राजु तामाङ शान्ति सेनामासमावेश भए । त्यसैले नवयुगले निरन्तर पहिलो रोजाइमा मौका पाए । डम्बरसिंहपछि योगम्बर सुवाल हुदै अहिले मेघराज केसी आर्मीको मुख्य प्रशिक्षक छन् । नवयुग उनीहरु सबैको रोजाईमा परे । उनलाई राष्ट्रिय टिममा ध्रुव केसीले ‘ब्रेक’ दिए । त्यसपछि प्याट्रिक ओसेम्सले पहिलो रोजाईमा राखे । बंगबन्धु गोल्डकपका लागि प्रशिक्षक बालगोपाल महर्जनले उनलाई भरपर्दा फरवार्डका रुपमा प्रयोग गरे ।

सागमा २३ वर्षपछि नेपालले स्वर्ण पदक जिताउन पनि उनले प्रशिक्षक राजु शाक्यको टिममा महत्वपूर्ण योगदान दिए । नेपालका दुई सफल कप्तानहरु बालगोपाल र राजु दुवैको प्रशिक्षक करिअरमा सबभन्दा ठूला सफलता दिलाउन नवयुग सफल रहे । र, नवयुगको यो सफलतासँगै नेपाली फुटबलमा नवयुगको शुरुवात भएको मानिएको छ