खेलाडीको सुविधाको लागि दिइएको रकम राखेपको एक कर्मचारीको व्यक्तिगत खातामा भेटियो, तीन करोड रुपैयाँ व्यक्तिगत खातामा!!!

राष्ट्रिय खेलकुद परिषदले १२ औं दक्षिण एसियाली खेलका लागि सरकारले उपलब्ध गराएको रकमको दुरुपयोग गरेको पाइएको छ। सरकारले सागका लागि निकासा गरेको मध्ये तीन करोड रुपैयाँ राखेपकै एकजना कर्मचारीको ब्यक्तिगत बैंक खातामा भेटिएको हो।


राखेपअन्तर्गत कर्मचारी प्रशासन विभागका प्रमुख इन्द्रबहादुर कार्कीको खातामा उक्त रकम जम्मा भएको पाइएको छ । उनी १२ औं सागका लागि गठित यातायात तथा बसोबास उपसमितिका सचिवसमेत हुन् ।

सरकारले सागमा सहभागी हुने खेलाडीको भत्ता, यातायात र बसोबासका लागि उपलव्ध गराएको रकम उनको खातामा जम्मा गरिएको हो । यति धेरै सरकारी रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा गरिनु गलत भएको राखेपकै एक अधिकारीले बताएका छन् । सरकारी रकम ब्यक्तिको खातामा जम्मा गरिनु अख्तियारको दुरुपयोग मानिन्छ।