शोकमा डुब्यो अस्पतालकाे अाँगन,काे-पाइलटकी अामा अचेत (फोटो फिचर)
काठमाडौं- कालिकोटमा बिहीबार भएको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानाको शव शनिबार शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ। हेलिकप्टरबाट त्रिभुवन विमानस्थलसम्म ल्याइएका शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको हो।
आफ्नो ज्यान गुमाएर यात्रुको ज्यान बचाएका चालकद्वयप्रति मृत्युप्रयन्त देशभरिबाट सम्मानको स्वर गुञ्जिएको छ।
रानाकी आमा अचेत, शोकमा डुब्यो शिक्षण अस्पतालको अाँगन
छोरा गुमाएको पीडामाथि पूर्वमन्त्री एवं एमाले नेता दलबहादुर रानालाई अचेत पत्नी सम्हाल्ने दोहोरो भार थपियो। पूर्वमन्त्री रानाको हाउभाउले संकेत गर्दै थियो उनलाई आफैँ सम्हालिन कति हम्मे परेको थियो। त्यहाँ जुटेका अफन्तले ढलेकी आमालाई छोराको शव बोकेकै एम्बुलेन्समा राखेर अस्पताल दौडाए।
शिक्षण अस्पतालमा पाइलट दिनेश न्यौपानेका परिवारको अवस्था उस्तै भावविव्ह्ल थियो। न्यौपानेका परिवारजन र आफन्तको रुवाईले अस्पतालको आँगन शोकमग्न बन्यो।
मृतकद्वयका परिवार र आफन्तलाई सान्त्वना दिने त्यहाँ थुप्रै सर्वसाधारण थिए। उनीहरुको सान्त्वना स्वर सुनिन्थ्यो– 'आफूलाई सम्हाल्नुस्, यस्ता बहादुर सपुत सबैको भाग्यमा हुँदैन।' अस्पतालको आँगामा चालकद्वयप्रति सम्मानका स्वर सुनिन्थ्यो 'आफ्नो प्राण त्यागेर यात्रु बचाउने यस्ता पाइलटलाई सरकारले राष्ट्रिय सम्मान दिनुपर्छ