अस्ट्रेलियाबाट आएकी दिदीले भेट्न पाइनन् भाइ!!

काठमाडौं: अस्ट्रेलियाबाट सात दिनअगाडि मात्रै स्वदेश फर्किएकी सिनियर पाइलट रोशन मानन्धरकी दिदी तिमिलाले भाइलाई भेट्न पाइनन् । तिमिला विदेशबाट फर्किएर माइतीघर पुगे पनि उडानमा व्यस्त रहेका भाइ रोशनलाई भेट्ने इच्छा भने इच्छामै सीमित रह्यो ।


‘अस्ट्रेलियाबाट फर्किएर माइत आएकी थिएँ तर भाइलाई भेट्न पाइनँ । आज अकस्मात् यस्तो खबर सुन्नुपर्‌यो', तिमिलाले बुधबार अपराह्न आँसु पुछ्दै भनिन् । मंगलबार मात्रै परिवारबाट बिदा भएर पोखरा हिँडेका रोशनको बुधबार बिहान अचानक आफैंले उडाएको जहाज दुर्घटनामा परी निधन भएको छ ।


यस्तो दुःखद् खबर सुनेपछि डल्लु आवासस्थित पाइलट रोशनको घरमा आफन्त र शुभेच्छुक खचाखच भरिएका थिए । घरको मूल ढोकाभित्र पस्नेबित्तिकै भित्तामा परिवारका साथ उभिएका रोशनको फोटो टाँगिएको थियो । फोटोमा दुई छोरी रोपमा, उपमा, छोरा ऋषि र पत्नी पुनमसँगै छेउमा बसेका थिए रोशन ।

पाँचजना दाजुभाइमध्येका जेठा रोशनको निधनको खबर सुनेपछि परिवारमा सबै शोकाकुल थिए । कोही बोल्नसक्ने अवस्थामा थिएनन् । छिमेकी र आफन्तको अनुहार पनि मलिन देखिन्थ्यो ।

रोशनका बारेमा बुझ्न घरमा पुग्दा जेठी छोरी रोपमाले प्रश्न गरिन्, ‘तपाईंहरू केका लागि आउनुभएको हो ?' मिडियाबाट भन्नेबित्तिकै उनले भावविह्वल हुँदै भनिन्, ‘ड्याडी हिजो मात्रै हामीसँग बिदा भएर पोखरा जानुभएको हो । हिजोको फ्लाइट क्यान्सिल गर्नुभएको थियो ।'

रोपमाले यतिबाहेक अरू केही बोल्न सकिनन् । पति दुर्घटनामा परेको खबरले पुनम छट्पटाइरहेकी थिइन् । आमा नानीमैया अर्धचेत अवस्थामा थिइन् । पुनम र नानीमैयालाई आफन्तले घेरिरहेका थिए ।

अमेरिकाबाट पाइलट पढेर नेपाल आएपछि रोशनले सुरुका १० वर्ष नेपाल वायुसेवा निगममा काम गरेका थिए । सिनियर पाइलटमा स्थापित भएपछि उनले यती एयरलाइन्समा जागिर खाएका थिए । रोशनका आफन्त मनोज मानन्धरले भने, ‘दुर्घटना भएको खबर हामीलाई विश्वासै लागेको छैन । उनैले क्यानाडाबाट सात दिन लगाएर जहाज नेपाल ल्याएका थिए ।'


दुर्घटना भएको नाइन–एन एचएच जहाज गत असोजमा रोशन र क्यानेडिएन पाइलट स्टेफन क्यानडीले क्यानाडाबाट पेरू, आइसल्यान्ड, स्विडेन, सर्बिया, ग्रिस, इजिप्ट, यूएई र भारतको अहमदाबाद हुँदै नेपाल ल्याइपुर्‌याएका थिए ।

तारा एयरमा आन्तरिक उडानको प्रशिक्षण लिइरहेका दिकेश नेमकुल पनि सोही विमान दुर्घटनामा परे । सन् २००८ मा दक्षिणअफ्रिकाबाट पाइलटको तालिम लिएपछि सन् २०१४ मा नेपाल फर्किएका दिकेशले तारा एयरमा आन्तरिक उडानको प्रशिक्षण लिन थालेका थिए । उनलाई वरिष्ठ पाइलट रोशनले नै प्रशिक्षण दिइरहेका थिए । दक्षिणअफ्रिकाको जोहानन्सबर्गस्थित फ्लाइट ट्रेनिङ सर्भिसेजबाट पाइलट कोर्स सकेर नेपाल आएका थिए उनी ।

सँगै पाइलट कोर्स गरेका पाटन मंगलबजारका विजय अवालेका अनुसार उनी ज्यादै मेहनती र शालीन स्वभावका थिए । अवाले नेपाल एयरलाइन्सका को–पाइलट हुन् । ‘दिकेशको को–पाइलट ट्रेनिङ रामै्र थियो । तारामा छनोट भएपछि उनी ज्यादै खुसी थिए', अवालेले भने । दक्षिणअफ्रिकामा हुँदा बाबु गुमाएका डिकेश आमासँग पाटनढोकामा बस्दै आएका थिए । अवालेका अनुसार घरका एक्लो छोरा डिकेशका दुई दिदी र एक बहिनी छन्