अन्ततः मधेसी मोर्चाको ‘बाघ’ बने राजेन्द्र महतो, उपेन्द्र-महन्थको नराम्रो हार वीरगञ्ज नाका बन्द गर्ने उपेन्द्र-महन्थको सपना चकनाचुर
वीरगञ्ज नाका बन्द गर्ने उपेन्द्र-महन्थको सपना चकनाचुर
वीरगञ्ज, २३ माघ । बीरगञ्ज नाका बन्द गर्ने कि खोलाउने भन्ने विषयमा मधेशी मोर्चामा तीव्र विवाद बढेको छ ।
मोर्चाका दुई शीर्ष नेताले बीरगञ्ज नाकालाई आफ्नो प्रतिष्ठाको विषय बनाएपछि नाकाबन्दीलाई लिएर मोर्चाको प्रतिष्ठित बैठक पनि बस्न सकेको छैन् ।
बीरगञ्ज नाकाको जिम्मेवारी पाएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कि सबै नाका बन्द गर्नुपर्यो कि बीरगञ्ज नाका खोल्नुपर्ने अभिव्यक्ति दिए लगत्तै बीरगञ्ज नाका सुचारू भएको थियो । महतोले मोर्चाका अन्य दलका नेताहरूले नाकाबन्दीमा इमान्दारिता नदेखाएको र नाकाबन्दीको जिम्मेवारी पाए नि नाकाबन्दी नगरेको आरोप लगाएका थिए । बिहारबाट फर्केलगत्तै महतोले बिराटनगर आएर बीरगञ्ज नाका खोल्नुपर्ने अभिव्यक्ति दिएका थिए । महतोले अभिव्यक्ति दिएको २४ घण्टा नबित्दै १३५ दिन देखि बन्द नाका सुचारू भएको थियो । नाका सुचारू भए पछि प्रधानमन्त्री केपी ओलीदेखि लिएर एमाओवादी अध्यक्ष प्रचण्ड सम्मले महतोलाई फोन गरि बधाई दिएका थिए ।
तर, यही कुरा मधेशी मोर्चाका उनका सहयात्री फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुर सम्मलाई टाउको दुखाई भयो । महतोले भन्ने बित्तिकै नाका खुलेको विषयले मोर्चाभित्र खैलाबैला नै मच्चायो । महतोले दिएको अभिव्यक्ति भन्दा ठीक एक दिन पहिले तमलोपा अध्यक्ष महन्थ ठाकुरले सीमांकनको विषय नटुंगिएसम्म नाका नखुल्ने अभिव्यक्ति दिएका थिए । ठाकुरले दिएको अभिव्यक्तिको एक दिन पछिनै महतोले नाका खुल्नुपर्ने बयान दिएका थिए ।
उता केही दिन पहिलेनै उपेन्द्र यादवले पनि बिराटनगर, सुनसरी, सप्तरी र सिरहामा बीरगञ्ज नाका तत्काल नखुल्ने बताउंदै आएका थिए । तर महतोको अगाडि कसैको केही लागेन । महतोले नाका खोल्न अभिव्यक्ति दिएपछि नाका सुचारू भएपछि उपेन्द्र यादव र महन्थ ठाकुरले यसलाई आफ्नो अपमान भएको र मधेश आन्दोलनमा आफ्नो पार्टीको कुनै पकड नभएको र नाकाबन्दी पनि महतोकै कारण भएको ठहर गरेको छ ।
शुक्रवार बीरगञ्ज नाका सुचारू भएपछि उपेन्द्र यादव र महन्थ ठाकुरको पार्टीले यसलाई आफ्नो अपमान ठान्दै कुनै पनि हालतमा बीरगञ्ज नाका फेरि बन्द गराउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए । फोरम नेपालका एक जना केन्द्रीय सदस्यले बताए अनुसार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बीरगञ्जमा रहेका आफ्ना पार्टीका उपाध्यक्ष लालबाबु राउत, महासचिव रामसहाय यादव र पर्सा जिल्ला अध्यक्ष प्रदीप यादवलाई फोन गरि जसरी भएपनि बीरगञ्ज नाका बन्द गर्न निर्देशन दिएका थिए । स्रोतले बताए अनुसार उपेन्द्रले एक घण्टाको लागि भएपनि नाका अवरोध गर्न खटाएका थिए । उपेन्द्र यादवको निर्देशन लगत्तै फोरम उपाध्यक्ष लालबाबु राउत र प्रदीप यादवले स्थानीय मोर्चाको बैठक बोलाए ।
उता बीरगञ्जमा रहेका तमलोपा महामन्त्री जितेन्द्र सोनलले पनि नाकाबन्दीलाई प्रतिष्ठाको विषय बनाएर जसरी पनि नाकालाई बन्द गर्ने दबाब दिए । बीरगञ्जमा भएको मोर्चाको स्थानीय बैठकले राजेन्द्र महतोले दिएको अभिव्यक्तिको आलोचना गर्दै आजै देखि नाकालाई अवरोध गर्ने, सांझ मशाल जुलुस निकाल्ने र आईतवारदेखि बीरगञ्ज बन्द गर्ने निर्णय गरियो । तर, फोरम नेपालका उपाध्यक्षदेखि तमलोपाका महामन्त्री सम्मको नाकामा केही चलेन । आफ्ना दर्जनभर कार्यकर्ता लिएर नाकामा पुगेर अवरोध गर्ने प्रयास गरेपछि स्थानीय व्यापारी र रक्सौलवासीद्वारा लखेटिएका थिए । केही छिनमै मोर्चाका नेताहरू फर्केका थिए । स्थानीय व्यापारीहरूले महतोको भाषा बोल्दै पहिले अरू नाका बन्द गरेर आऊ अनि यो नाका बन्द गर भन्दै मोर्चाका नेताहरूलाई लखेटेका थिए ।
नाकाबाट लखेटिएका फोरम नेपाल र तमलोपाका नेताहरूले सांझको मशाल जुलुस र भोलि देखिको बन्द फिर्ता लिए । यो घटनासंगै मोर्चामा महतो र अन्य दलका नेताबीचको सम्बन्ध चिसिएको छ ।
