लालबाबु पण्डितः दशगजामा लम्पसार पर्नेहरुसित झुक्नुहुँदैन चश्मा लगाएर मञ्चमा बसेका पण्डितलाई उद्घोषकले बोल्न बोलाउने वित्तिकै तालीको गड्गडाहट सुरु भएको थियो । उनले आफ्नोे सम्वोधनमा लगातार ताली पाए ।

पार्टीसित जिम्मेवारी माग्दा किताब पढेर बस भनियो'


१९ माघ, काठमाडौं । एमालेको माधव नेपाल गुटले मंगलबार राजधानीमा एउटा अन्तरक्रिया गर्‍यो, जसको विषय थियो ‘संविधानको कार्यान्वयनः राष्ट्र र पार्टी निर्माण’ । झलनाथ खनाल र माधव नेपालदेखि योगेश भट्टराई र घनश्याम भुसालसम्मको उपस्थिति रहेको कार्यक्रममा मुख्य आकर्षण बने लालबाबु पण्डित ।
चश्मा लगाएर मञ्चमा बसेका पण्डितलाई उद्घोषकले बोल्न बोलाउने वित्तिकै तालीको गड्गडाहट सुरु भएको थियो । उनले आफ्नोे सम्वोधनमा लगातार ताली पाए ।
राष्ट्रियताको पक्षमा र मधेस आन्दोलनको विपक्षमा उनले आफ्ना भनाईहरु आक्रामक तर तार्किक ढंगले राखेका थिए । ‘म आज धेरै बोल्न सक्दिन’ उनले आफ्नो भाषण सुरु गर्दै भने-‘आँखाको भर्खरै मात्र अपरेसन गरेकाले स्वास्थ्य अलि राम्रो छैन ।’ लालबाबुले कालो चश्मा लगाएको झिल्के देखिनलाई होइन, आँखाका समस्याले रहेछ ।’
सुरुमा उनले माघ १९ को प्रसंग यसरी निकाले-‘आज माघ १९ कै दिन यो कार्यक्रम गरिएको छ । के कारणले (यो दिन रोजिएको) हो, मलाई थाहा छैन । तर, म कहिलेकाहीँ प्रश्न उठेको सुन्छु, माघ १९ दोहोरिने त होइन ? फेरि राजतन्त्र व्यूँतिने त होइन ?’
‘तर,’ उनले डाइलग हाने-‘राजतन्त्रको लाश पनि डढाएर अस्तु मात्र बाँकी छ । अब त्यो अस्तु फर्केर आउँदैन । म त ढुक्क छु । तपाईंहरु पनि ढुक्क हुनुस् ।’
उनले आठ वर्ष लामो प्रयासपछि संविधान जारी हुँदा आफू सबैभन्दा धेरै खुशी भएको सुनाए । पण्डितले भने-‘संविधान बन्नुभन्दा अगाडि मैले पार्टीका वरिष्ठ नेताहरुलाई भेटेर भनेको थिएँ, कि कसैले दबाव दिएको भरमा दुई दिन पनि (संविधान जारी गर्न) रोक्नु हुँदैन । संविधान ल्याएपछि जे आइपर्छ त्यसको सामना गर्नुपर्छ ।’
‘त्यसकारण’ उनले अगाडि भने-‘म गौरवान्वित छु कि हामीले हिम्मतका साथ संविधान जारी गर्‍यौं । विदेशीको दबावलाई इन्कार गरिदियौं ।’ नेपालमा संविधानसभाबाट संविधान आओस भन्ने मित्रराष्ट्रले नचाहेको उनको दाबी थियो ।
त्यसपछि उनले मधेसवादी दलहरुमाथि प्रहार सुरु गरे । ‘देशभित्रकै केहि दोगला चरित्र बोकेकाहरुले बाहिरी प्रभावमा परेर संविधान जलाए । यी राजनीतिमा च्याँखे थाप्नका लागि जन्मेका दलहरु हुन् । विदेशीले जन्माएका यी च्याँखे पार्टीहरुले मालिकको निर्देशन पालना गर्नभन्दा अर्थोक केहि जानेकै छैनन्’ उनले भने ।
‘शरीरमा खुन भएका नेपालीहरुले दोगला चरित्र बोकेकाहरुसित शिर निहुर्‍याउनु हुँदैन,’ पण्डित गर्जिए, ‘विदेशी दूतावासमा गएर रोइकराई गरुन् कि दशगजामा गएर लम्पसार परुन्, तिनीहरुका नाजायज माग कुनै हालतमा पुरा गर्नु हुँदैन ।’
उनले थपे, ‘हामी दिल्लीसँग डराउनु पर्दैन, पटनासित पनि डराउनु हुँदैन । लैनचौर जाबोसित त झन् किन डराउने ?’
छात्रवृत्ति माग्नेहरुसित डर लाग्छ
विदेशीहरुसित आफ्ना छोराछोरीका लागि छात्रवृत्ति माग्न हात पसार्ने नेताहरुप्रति पण्डितले निकै कटाक्ष गरे । उनले भने, ‘मलाई यस्ता नेतादेखि डर लाग्छ जो देशको प्रतिनिधि भएर विदेशीलाई भेट्छन् । तर, देशको कुरा कम आफ्नो नीजि कुरा बढि गर्छन् । राजनीतिमा लाग्दा लाग्दा म कमजोर भएँ, मेरो छोराछोरीलाई हेरिदिनुपर्‍यो हजुर भन्दै हात पसार्छन् । बिरामी भएँ हजुर, उपचार गरिदिनुपर्‍यो भन्दै विन्ति बिसाउँछन् । हुँदाहुँदा पार्टीभित्रको चुनाव जिताइदिनुपर्‍यो भनेर पनि चाकडी गर्छन् ।’
उनले यसो भनिरहँदा मञ्चमा एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पनि थिए । ‘यस्ता नेताले राष्ट्रियता कमजोर नबनाए कसले बनाउछ ? त्वम्शरणम् भइसकेपछि उनीहरुले जसरी नचाउँछन् त्यसैगरी नाच्नु परिहाल्छ ।’
उनले अघि भने-‘जनविश्वासलाई लिएर अगाडि बढौं त कसले हामीलाई नचाउँछ ? कसको शरणमा पर्नुपर्छ ? कसले संविधान कार्यान्वयन गर्न रोक्छ ?’
‘मलाई हिजो एउटा अनलाइन च्यानलले सोध्यो, तपाईंलाई विदेशीले कत्तिको भेट्छन् ? मैले जवाफ दिएँ, मलाई स्वदेशीले मात्रै भेट्छन् । विदेशी त मसित डराउँछन् । किनभने उनीहरुको स्वार्थअनुसार म केहि पनि गर्दिँन ।’
कामविहीन भएको गुनासो
पूर्वमन्त्री पण्डितले मन्त्री पदबाट हटेको तीन महिनादेखि आफू कामविहीन भएको गुनासो गरे । आफूलाई जिम्मेवारी दिन पार्टीमा आग्रह गर्दा पनि सुनुवाई नभएको उनको भनाइ छ ।
‘मलाई पार्टीसित केहि गुनासो छ । मन्त्रीबाट हटेपछि मैले नेताहरुलाई भेटेर भनेँ, मलाई काम दिनुस् । उहाँहरुले जवाफ दिनुभो कि मन्त्री हुँदा बेफुर्सदीले किताब पढ्न पाउनु भएको थिएन होला, अहिले पढ्नुस् । मजस्तो मान्छे पनि यसरी निस्त्रिmय बसेपछि पार्टी निर्माण कसरी होला ?’ उनले यस्तो प्रश्न गर्दा मञ्चमा आसिन एमाले नेताहरु एकनासले मुस्काइरहेका थिए ।
राजनीतिक पदहरु विक्री भएको आरोप
पण्डितले विभिन्न राजनीतिक पदहरु गैरराजनीतिक व्यक्तिहरुलाई बिक्री गर्ने परिपाटी रहेको भन्दै यसलाई अन्त्य गर्नुपर्ने माग गरे । ‘राजनीतिक पदहरुमा राजनीतिक व्यक्तिहरु नै आउनुपर्छ । अन्यथा देश उल्टो दिशातिर जान्छ । पार्टी उल्टो दिशातिर जान्छ ।’
‘अस्ति जनवर्गीय संगठनका कामरेडहरु मेरो निवासमै आएर भन्नुभो, केन्दि्रय सदस्यमा मनोनित हुनका निम्ति पाँच लाख तोकिएछ । यो त अति भयो । यदि यो तरिकाले राजनीतिक पदहरु बाँड्दै जाने हो भने पार्टी कहाँ पुग्ला ?’
‘त्यसकारणले म भन्न चाहन्छु, सुल्टो दिशा पक्रिनका लागि हामी सचेत बनौं । यसको निम्ति नेतृत्वपङ्ती तयार बनोस् । होइन भने एमाले अस्थिपञ्जर बन्नेछ । म एमालेको समाप्तिको बाटो रोज्न सक्दिन । म नेपालको समृद्धिको बाटो छोड्न सक्दिन ।’
‘हाम्रा बोली र व्यवहार उखान टुक्काहरुमा मात्रै सिमित भयो र अरुलाई उपदेश दिनेमा मात्रै सिमित भयो भने यो देश कसले बनाइदिन्छ ?’ उनले प्रश्न गरे