मधेसी गठबन्धनले आन्दोलन फिर्ता लियो, बजार, यातायात र शैक्षिक संस्था खुल्न दिने
वीरगन्ज, १९ माघ । आन्दोलनरत सङ्घीय समावेशी मधेसी गठबन्धनले सीमा नाकाको धारणा यथावत् राख्दै केही समयका लागि बजार, यातायात र शैक्षिक संस्था खुल्न दिने निर्णय गरेको छ ।
तराई मधेस राष्ट्रिय अभियानका संयोजक एवम् गठबन्धनका नेता जेपी गुप्ताले मधेसको माग सम्बोधन गराउनका लागि मधेसकेन्द्रित सबै दलबीच उच्चस्तरको एकता, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेस आन्दोलनलाई परिणाममुखी बनाउनका लागि मधेसी, थारु, आदिवासी जनजाति, दलित र मुसलमान लगायत सबै वर्ग र समुदायलाई आन्दोलनमा सक्रियताका साथ लाग्न आह्वान गर्नुभयो । मधेसी जनअधिकार फोरम नेपाल(गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले गठबन्धन मधेसका जिल्लामा विरोधसभा, जनप्रदर्शन, जनजागरण लगायत कार्यक्रम तय गरेर अगाडि बढ्ने बताउनुभयो । रासस
