मधेसी आन्दोलनलाई समर्थन गर्न लालु यादव नेपाल आउँदै ? मधेसी नेताले नेपालमा आफ्नो आन्दोलनको रणनीतिको विषयमा चार घन्टा आरजेडीका नेताका साथमा बैठक गरेका थिए
काठमाडौं, माघ २० । तराई–मधेसमा आन्दोलनरत् मधेसी दलका शीर्ष नेताहरु भारतको बिहार गएर त्यहाँका नेताहरुसँग भेटवार्ता गरेको विषय अहिले राजनीतिक वृतमा चर्चामा छ ।
मुलुकको आन्तरिक समस्या आन्तरिक रुपमा नै हल नगरी विदेश गुहार्नु उचित नभएको भन्दै कतिपयले सो विषयमा तीखो प्रतिक्रियासमेत दिएका छन् ।
गत सोमबार मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले बिहार पुगेर बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दल (आरजेडी)का अध्यक्ष लालुप्रसाद यादवसँग भेटवार्ता गरेका थिए ।
सोक्रममा लालु यादवले मधेसी नेतालाई राजनीतिक मुद्दामा मद्दत गर्ने आश्वासन दिएको स्रोतलाई उद्धृत गर्दै भारतीय सन्चारमाध्यमले जनाएको छ ।
भारतीय समाचार अनलाइन ‘नवभारत टाइम्स’मा प्रकाशित समाचारअनुसार लालु यादवसँगको सो भेटवार्तापछि मधेसी नेताले नेपालमा आफ्नो आन्दोलनको रणनीतिको विषयमा चार घन्टा आरजेडीका नेताका साथमा बैठक गरेका थिए ।
उक्त बैठकमा आरजेडीका वरिष्ठ नेता तथा भारतका पूर्वकेन्द्रीय मन्त्री रघुवंशप्रसाद सिंह र भारतका पूर्वसांसद मंगनीलाल मन्डल पनि सहभागी थिए ।
सो बैठकपछि रघुवंशप्रसादले मधेसी जनताप्रति नेपालमा भेदभाव भइरहेको दाबी गर्दै आफूहरु चुप लागेर बस्न नसक्ने प्रतिक्रिया दिएको जनाइएको छ ।
उनले आरजेडी अध्यक्ष लालुप्रसाद यादवले मधेसी आन्दोलनलाई समर्थन गर्न प्रतिनिधिमन्डलकासाथ नेपाल भ्रमण गर्ने पनि बताएको समाचारमा जनाइएको छ ।
