प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सहज रूपमा इन्धन आपूर्ति हुन्छ भन्ने सरकारको विश्लेषण गलत साबित भएको छ!

निगमका प्रवक्ता मुकुन्द घिमिरेले आईओसीले ‘माथिको आदेश’ नआएको भन्दै आपूर्ति परिमाण बढाउन आनाकानी गरिरहेको बताए । निगमका अनुसार मुलुकभर दैनिक पेट्रोल ११ लाख लिटर र डिजेल २७ लाख लिटरको माग छ । सामान्य अवस्थामा यो मागको झन्डै ६६ प्रतिशत रक्सौल नाकाबाट आपूर्ति हुन्थ्यो ।

निगमले इन्धन वितरण प्रणाली सहज बनाउन रक्सौल डिपोबाट दैनिक सात लाख लिटर पेट्रोल र १५ लाख लिटर डिजेल माग गरेको थियो । त्यसमध्ये आईओसीले औसतमा पाँच लाख ५० हजार लिटर पेट्रोल र १० लाख ५० हजार लिटर डिजेल उपलब्ध गराएको छ ।

आईओसीले पेट्रोल र डिजेलमा जस्तै बहाना ग्यासमा पनि बनाएको छ । आईओसीले मागको ४० प्रतिशत ग्यास आयात हुने बरौनी डिपोबाट गत सोमबारदेखि आपूर्ति बन्द गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार बरौनी डिपोमा अहिले सयभन्दा बढी बुलेट लोडका लागि लाममा बसेका छन् ।