नेपालमा डिम्बाशय अर्थात् ओभेरियनको क्यान्सरको वास्तविक स्थितिबारे हालसम्म कुनै विशेष अध्ययन भएको छैन । तथापि के चाहिँ ठोकुवा गर्न सकिन्छ भने, स्त्री रोगसम्बन्धी क्यान्सरमा यो रोगबाट हुने मृत्युदर सबैभन्दा बढी छ । डिम्बाशय गर्भाशयको दुवै छेउमा हुने ग्रन्थी हो । यसले महिनावारी कायम रहुन्जेल हरेक महिना एउटा विकसित डिम्ब उत्पादन गर्छ । यही डिम्ब पाठेघरमा गएर शुक्रकीटसंग निषेचित हुन्छ र गर्भ रहने गर्छ ।डिम्बाशयको क्यान्सरले एउटा वा दुवै डिम्बाशयलाई प्रभावित गर्छ । डिम्बाशयको क्यान्सर नियन्त्रण गर्न कठिनाइ छैन तर यसका लागि क्यान्सर सुरुआती चरणमै पत्ता लगाउनु आवश्यक हुन्छ । ‘प्रारम्भिक अवस्थामै डिम्बाशयको क्यान्सर पहिचान गर्न सकियो भने करिब ९० प्रतिशत मामिलालाई नियन्त्रण गर्न सकिन्छ,’ भक्तपुर क्यान्सर अस्पताल, स्त्री रोग क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरे भन्छिन्, ‘महिनावारी बन्द भएपछि डिम्बाशयको कार्यक्षमता कम हुन्छ । अनि क्यान्सरको खतरा बढ्छ ।’ अमेरिकन क्यान्सर सोसाइटीको तथ्यपत्र अनुसार, उमेरसँगै यो क्यान्सर हुने जोखिम बढ्छ । यो क्यान्सर ४० वर्षमुनिका महिलाहरूमा कम पाइने गरेको छ । धेरैजसो महिलामा ओभरियन क्यान्सर महिनावारी सुकेपछि हुने गरेको छ । आधाभन्दा बढी ओभेरियन क्यान्सरका पीडितहरू ६३ वर्षमाथिका महिला हुने गरेका छन् ।
डिम्वासयको क्यान्सर नै सबै भन्दा बढी महिलाको मृत्युको कारण -डा.सरिता घिमिरे डिम्वासयको क्यान्सर के हो ? लक्षणहरु र रोकथाम