वीरगन्जः एक साताको अवधीमा भारतबाट वीरगन्ज नाका हुदै ८५ लाख लिटर इन्धन नेपाल भित्रिएको छ ।
नाकाबन्दी खुलेपछि आठ दिनयता भारतबाट वीरगन्ज नाका हँुदै ८५ लाख ६२ हजार लिटर इन्धन नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गत माघ २२ गते देखि २९ गते शुक्रबारसम्म भारतबाट वीरगन्ज नाका हुँदै ४६ लाख ९४ हजार लिटर डिजेल, २१ लाख ५६ हजार लिटर पेट्रोल, १६ लाख ३२ हजार लिटर हवाई इन्धन र ८० हजार लिटर मट्टीतेल नेपाल भित्रिएको भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्मा पौडेलले बताए ।
उनका अनुसार आठ दिनको अवधीमा तीन सय २२ ट्याङकर डिजेल, एक सय ९४ टयाङकर पेट्रोल, ७७ टयाङकर हवाइ इन्धन र ६ टयाङकर मट्टीतेल गरि कुल पाँच सय ९९ टयाङकर इन्धन वीरगन्ज नाका हुदै नेपाल भित्रिएको हो ।
नाका खुलेपछिको आठ दिनको अवधीमा चार सय १० टन अर्थात २३ बुलेट ग्यास पनि वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको सूचना अधिकृत पौडेलले बताए ।
माघ २२ गते नाका खुलेपनि रक्सौलमा रहेको भारतीय आयल कर्पोरेशन (आइओसी) को डिपोले भने गत सोमबार देखि मात्र नेपाल आयल निगमलाई सहजरुपमा इन्धन दिन थालेको हो ।
नाका खुलेपछि नेपाल आयल निगमले पठाएको ट्याङकरहरुमा रक्सौलमा रहेको भारतीय आयल कर्पोरेशन आइओसीले गत सोमबारदेखि मात्र सहजरुपमा इन्धन भर्न थालेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख भानुभक्त खनालले बताए ।
मधेसी दलले भारतसँगको सीमामा गत असोज ७ गते नाकाबन्दी गरेपछि रक्सौलस्थित आइओसीको डिपोले नेपाल आयल निगमलाइ तेल दिन छाडेको थियो ।
तर गत सोमबार आईओसीको केन्द्रीय कार्यालयले आफू मातहतको रक्सौल डिपोलाई आयल निगमको माग अनुसार तेल दिन निर्देशन दिएपछि मात्रै रक्सौल डिपोले सोमबार देखि नै नेपाली टयाङकरमा इन्धन भर्न शुरु गरेको हो ।
भारतबाट नेपालका लागि वीरगन्ज नाका हुदै ७० प्रतिशत डिजेल र पेट्रोल , ८० प्रतिशत ग्याँस र ९० प्रतिशत हवाइ इन्धन भित्रिने गरेको छ ।
वीरगन्ज नाकाबाट ८५ लाख लिटर इन्धन आयो!!!