बेगनासतालमा ४ दिनअघि भेटिएको महिलाको शवको पहिचान भएको छ । उक्त शव लेखनाथ–१२ बस्ने २८ वर्षे खेममाया पुन रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि तालमा भेटिएको उक्त शव विदेशीको भनी जनाउँदै आएको थियो ।
कास्कीका प्रहरी नायव उपरीक्षक (डिएपी) गजुसिद्धि बज्राचार्यले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको शव शुक्रबार बिहान मृतकका बाबुले छोरीको भनी पहिचान गरेको बताए । उनका अनुसार मृतकको घटनाको अनुसन्धान जारी रहेको छ ।
गत माघ २६ गते बिहान ११ बजे बेगनासताल तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पोखरामा एकपछि अर्को महिला हत्याको श्रृंखला दोहोरिँदा मायाको पनि कसैले हत्या गरेको हुनसक्ने पीडितको भनाइ छ ।
गत माघ १८ मा पोखरामा नेहा भन्ने योरुना पुनको हत्या भएको थियो । हत्यामा संलग्न पोखरा नयाँबजारका २१ वर्षे कृतन खड्कालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
उता, पोखराको मालेपाटनमा नेहा हत्याको २ दिनअघि मृत भेटिएकी सरस्वती लिम्बुको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
सँगीको निधनले शोकमा
कोपिला, माया, मीनाक्षी र प्रिति यी चार सँगी । पृथ्वीनारायण क्याम्पसको स्नातकोत्तर तह एबीस–२०६६ सालको व्याचका मिल्ने साथी हुन् । सधैँ कक्षामा फ्रन्टमा बस्न रुचाउने उनीहरु पढाईमा अब्बल मानिन्थे ।
त्यसमध्ये माया वार्षिक परीक्षा रिजल्टमा अग्रपंक्तिमा आइन् । थेसिस समेत सकाएकी उनी गतवर्षदेखि विश्व विकास बैंक, लेखनाथ शाखामा कार्यरत थिइन् । पेन्सनर बाबु र आमाका २ बहिनी, १ भाइमध्ये कान्छी माया बाबुआमाकी आँखाकी नानि थिइन् । खेममायालाई साथीहरु माया भनेर चिन्थे ।
सँगीको निधनमा यतिखेर उनका सहकर्मीहरु भावविह्वल छन् । ‘पत्याउनै नसकिने घटनाले हामीलाई बिक्षिप्त पारेको छ’ कोपिला भण्डारी भन्छिन्, ‘कसरी मृत्यु भयो ? अनुसन्धान गहिरो हुनुपर्छ ।’ कोपिलाले फेसबुकको प्रोफाइल समेत माया र आफूको ज्वाइन्ट पिक्चर राखेकी छन् ।
शुक्रबार बिहान कोपिलाले मायाको ‘एक्पाएर’ भएको दुःखद खबर सुनाएपछि मीनाक्षी ज्ञवाली अवाक भइन् । म त छाँगाबाट खसेझैं भएँ, पत्याउनै सकिनँ, मीनाक्षी भन्छिन् । यतिबेला उनको स्मरणमा मायासँग सँगै पढ्दा र घुम्दाका क्षण झल्झली आएका छन् ।
पढाईमा अत्यन्तै रुची राख्ने मायाको निधनले प्रितिलाई पनि शोकमा डुबाएको छ । उनीहरु यतिखेर सँगीको कसरी मृत्यु भयो ? अनुसन्धान गर्नुपर्नेमा जोड दिन्छन् ।
बेगनासतालमा ४ दिनअघि भेटिएको शवको पहिचान ::Read More News