ईराकमा फेसेकी श्रीमतीको बारेमा श्रीमान अम्बर भन्छन - हरेक रात श्रीमती फोनमा रोइरहेको सुन्छु, न अरबी बोलेकै सुन्ने यहाँ कोही छ, न नेपाली हिन्दी बुझिदिने :: थप >>

फाल्गुन १७, २०७२- मानव तस्करको सञ्जाल हुँदै इराकको युद्धग्रस्त क्षेत्र नसिरिया पुर्‍याइएकी बर्दियाकी मञ्जु थारूसँग कुराकानी गर्न अबेर रातसम्म पर्खेर बस्नैपर्ने हुन्छ । इराकी मालिकको चर्को घरधन्दा भ्याएर मात्रै फोनमा भेटिने भएकाले मञ्जुका श्रीमान् अम्बरबहादुर थारू सधंैजसो व्यग्र पर्खाइमा हुन्छन् ।

‘बर्दिया, बनियाभार गाउँबाट मञ्जु र म दुवैलाई विदेश पठाउने भनेर दिल्ली ल्याइएको थियो,’ इराकी भूमिबाट घरफिर्ती हारगुहार गरिरहेकी श्रीमती मञ्जुको उद्धार उपाय खोज्दै नेपाली दूतावास आइपुगेका अम्बरले भने, ‘हरेक रात श्रीमती फोनमा रोइरहेको सुन्छु, तर फर्काउन केही गर्न सकिरहेको छैन ।’

कूटनीतिक रूपमा इराक मामिला हेर्ने जिम्मा पाकिस्तानस्थित नेपाली नियोगलाई दिइएकाले इस्लामावादसम्म पुगेर श्रीमती मञ्जु उद्धारका लागि ‘केही गर्न सकिन्थ्यो’ कि भन्दै अम्बर शनिबार दिल्ली दूतावास आएका रहेछन् । अम्बरले दिएको फोन सम्पर्कमा शनिबार मध्यरातमा फोन गर्दा मञ्जु फेला परिन् । ‘यो नसिरिया भन्ने ठाउँ हो, तर कहाँनेर हो भन्ने मलाई थाहा छैन,’ मञ्जुले सुनाइन्, ‘इराक आएको डेढ महिनामा चौथो पटक घर फेरेर यहाँ ल्याएको ७ दिन मात्रै भएको छ ।’

मञ्जु पनि शुक्रबार मात्रै दिल्लीमा पक्राउ परेको मानव तस्करी गिरोहका नाइके राजन अधिकारीकै सञ्जालबाट इराक पुर्‍याइएकी रहिछन् । बर्दियाबाट नेपालगन्ज हुँदै कहिले मोटरसाइकल, कहिले टाँगा र कहिले बस हुँदै दिल्ली ल्याएपछि झन्डै एक महिना राजनको वसन्तकुन्जस्थित अड्डामा बिताएर मञ्जु–अम्बर दम्पतीमध्ये श्रीमतीलाई दिल्ली–कोलम्बो हुँदै इराक लगिएको रहेछ । तर, यति लामो बाटोमा पनि पासपोर्ट बनाउने तथा दिल्ली आउजाउ गर्नेबाहेक अरू धेरै खर्च आफूले गर्नु नपरेको अम्बरले सुनाए ।

दम्पती एकैसाथ विदेश जान नमिलेपछि पहिला श्रीमती मञ्जु गएर सबै कुरा बुझ्ने र पछि श्रीमान् अम्बरलाई बोलाउने योजना रहेछ । तर, अब इराक पुगेकी श्रीमतीलाई कसरी फिर्ता ल्याउँ भन्ने तनावमा छन् अम्बर ।

‘मलाई दिल्लीबाट श्रीलंकाको कोलम्बो जानुपर्ने भन्ने थाहा थिएन,’ २५ वर्षीया मञ्जुले सुनाइन्, ‘कोलम्बो विमानस्थलबाट १५ मिनेट टाढा गाडीको बाटोमा एउटा एकान्तको घरमा थुनेर राखिएको थियो । त्यो घरमा ४०/४५ जना नेपाली युवती थिए । कोही इराक जाने, कोही खाडी देश जाने भनेर बसिरहेको । मलाई २० दिन त्यो घरमा बसेपछि इराकको कुर्दिस्तान (एरबिल) ल्याइयो ।’

उनका अनुसार श्रीलंकामा हिन्दी बोल्न सक्ने एजेन्टले निगरानीमा राखेका थिए । उनका अनुसार खानपिन गर्न र रात बिताउनसमेत मुस्किल पर्ने घरमा दिनहुँजसो नयाँ नेपाली युवती आउने/जाने क्रम चलिरहन्थ्यो ।

आफूलाई कुर्दिस्तानको एरबिल हुँदै बगदाद र बगदादबाट नसिरिया ल्याउने इराकी तथा बंगाली एजेन्टहरू दिनहुँजसो फरक परिचयमा भेटिने उनले सुनाइन् । ‘ठाउँ र घर फेर्ने क्रममा मजस्तै अरू नेपाली युवती पनि भेटिए,’ मञ्जुले फोनमा भनिन्, ‘तर कोहीसँग पनि बोलचाल गर्ने अवस्थै रहँदैन ।’

अहिलेको इराकी मालिकको घरमा ७ जना छोराछोरी रहेको र पाहुनासमेत आइरहने हुनाले दिनरात नभनी घरधन्दामा लाग्नुपर्ने उनले बताइन् । खानपिन पनि बाँचेखुचेको मात्रै भेटिने स्थितिमाझ असुरक्षाको डरले रात बिताउनै मुस्किल रहेको उनले सुनाइन् । महिनाको साढे ३ सय डलर तलब दिने भनिए पनि ‘पैसाभन्दा पनि ज्यान जोगाउनै मुस्किल रहेको’ आपत्तिबारे मञ्जुले फोनमा रुँदै सुनाउन भ्याइन् ।

इराकमा ‘युद्धग्रस्त र संकटग्रस्त’ मानिने नसिरिया सहर राजधानी बगदादबाट २ सय २५ माइल दक्षिणपूर्वमा पर्छ ।

‘मलाई यहाँ ल्याउने र हामी बूढाबूढीलाई छुटाएर बिचल्ली बनाउने त्यो एजेन्ट राजन अधिकारी पनि दिल्लीमा प्रहरीको निगरानीमा परेको थाहा पाएँ । अब मलाई यहाँबाट निकाल्न नेपाल सरकारको कहाँ, कुन ठाउँमा अनुरोध गर्नुपर्‍यो,
तपाईंले भन्दिनुहोला,’ मञ्जु रुँदै थिइन्, ‘म साँच्चै अप्ठ्यारोमा परेकी छु ।’

दुई वर्षअघि मात्रै अम्बरसँग अन्तरजातीय बिहे गरेकी मञ्जुले घरसल्लाहमै विदेश गएर कमाइ गर्ने र अलिक ढुक्कले जीवन बिताउने योजना बुनेकी थिइन् । अम्बर पनि त्यही सपनाका भरमा एजेन्टका पछि कुदिरहेका थिए । ‘दिल्लीबाट श्रीलंका हुँदै यसरी इराक ल्याइएला भन्ने थाहा थिएन, फेरि यता पनि दिनरात अनेक मानसिक/शारीरिक सास्ती खेपेर काम गर्नुपर्ला भन्ने लागेको थिएन,’ मञ्जुले भनिन् । अरूभन्दा पनि विभिन्न ठाउँ र घर फेर्ने क्रममा बंगालादेशी मूलका ड्राइभरले गर्ने दुव्र्यवहार तथा सास्ती निकै दु:खलाग्दो रहेको उनले बताइन् ।बिहे गर्नुअघि कुवेतमा गएर दुई वर्ष काम गरेर फिरेका कारण मञ्जुलाई अरबी बोलचालमा त्यति कठिनाइ छैन । ‘तर न अरबी बोलेकै सुन्ने यहाँ कोही छ, न नेपाली/हिन्दी बुझिदिने छन्,’ उनले भनिन्, ‘लौ न सर, तपाईंले मेरो जीउज्यान जोगाइदिन नेपाल सरकारलाई बिन्ती गर्दिनुपर्‍यो । नत्र भने यो दिनरातको सास्ती बेहोरेर यतै मर्छु कि जस्तो भइरहेको छ ।’

नेपाली युवतीलाई मानव तस्करीको जालोमा पार्ने गिरोहलाई दिल्लीमा पक्राउ गर्ने भारतीय प्रहरीको क्राइम ब्रान्चले इराकमा रहेकी मञ्जुलाई घरफिर्ता ल्याउन पहल गर्ने आश्वासन दिएको छ । तैपनि मञ्जुसहितका कामदारको स्रोत मुलुक (नेपाल) भएकाले र दिल्लीबाट सिधै उडानसमेत नभएको अवस्थामा भारत सरकारले उद्धार समन्वयका लागि पहल मात्रै गर्न सक्ने स्थिति छ । ‘हामीले इस्लामावादस्थित नेपाली नियोगमार्फत कूटनीतिक उपाय गर्ने भएका छौं,’ दिल्लीस्थित दूतावासका एक अधिकारीले भने ।