भारतलाई नेपालको १७० रनको चुनौती

काठमाडौं : बंगलादेशमा जारि आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले तीन पटकको विश्वविजेता भारतलाई जितका लागि १७० रनको चुनौती दिएको छ ।

ढाकामा भइरहेको खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको नेपालले पुरै ४८ ओभर खेल्दै ८ विकेटको क्षतिमा १६९  रन बनाएपछि भारतले सो चुनौती पाएको हो । अघिल्लो चरण प्रवेश गरिसकेकाले नेपालले तीन पटकको विश्व च्याम्पियनविरुद्ध प्रतिष्ठाका लागि खेलिरहेको हो ।

नेपालका लागि ओपनर सन्दीप सुनारले ७३ बलमा ३७ रन जोडेर आउट भए । राजवीर सिंहले ६८ बलको सामना गर्दै ३५ रनको योगदान दिए । त्यसैगरी अरिफ सेखले ४४ बलमा २६ रन जोडे ।

नेपालका लागि नटआउट रहेका प्रेम तामाङले ४० बलमा २९ रन बनाए । त्यसैगरी सुशील कँडेल ३ रनमा नटआउट रहे ।

सुनिल धमला शून्यमै पेभेलियन फर्के भने योगेन्द्रसिंह कार्की ७ र राजु रिजाल ६ रनमै आउट भए । त्यसैगरी मध्यक्रमका दीपेन्द्रसिंह एेरी १ रनमै रन आउट हुन पुगे ।

नेपालका कुशल भुर्तेल पनि ६ रन बनाउँदै आउट भए । उनी अघि बढेको अवस्थामा भारतीय विकेट किपरबाट स्टम्प आउट भए ।