भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने मुख्य बीरगञ्ज-रक्सौल नाकाको आवागमन शुक्रबारदेखि खुला भएपनि पेट्रोलियम पदार्थको आयात ठप्पप्राय: रहेको अधिकारीहरुले बताएका छन्।
शुक्रबार नै नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनसँग कुराकानी गरेको तर आईओसीले 'माथिबाट स्पष्ट निर्देशन नआई' कोटा नबढाउने जवाफ दिएको बताइएको छ।
महिनौंदेखि बन्द बीरगञ्ज-रक्सौल नाका शुक्रबार नाटकीय रुपमा खुलेको थियो।
नाका खुलेको खबर पाउने बित्तिकै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मात्रा बढाउनेबारे आईओसीका अधिकारीहरुसँग कुराकानी गरेको निगमका आपूर्ति विभागका निर्देशक प्रमुख दिपक बराल बताउँछन्।
निर्देशन
उनले भने, "हिजो सूचना आउने वित्तिकै आईओसीलाई कुरा गरेको कतिवटा ट्यांकर पठाउने भनेर। जुन हिसाबले आठ दश ट्यांकर लोड भइराखेको थियो त्यही हिसाबले गर्ने हो। जब हामीलाई स्पष्ट निर्देशन आउँछ अनि हामी लोड गर्दिन्छौं भने उनीहरुले। "
बरालका अनुसार सामान्य अवस्थामा बीरगञ्जबाट प्रत्येक दिन १२० देखि १५० ट्यांकर इन्धन भित्रिने गरेको थियो।
शुक्रबारदेखि अन्यका लागि नाका खुलेपनि तेल बोकेका ट्यांकरहरु भने जोगबनी हुँदै बाङ्गो बाटो आउन वाध्य भएका थिए।
बिराटनगर-जोगबनी हुँदै रक्सौल जाने र सोही बाटो ट्यांकरहरु फर्कने गरेका थिए।
रोकावट
धर्नाकारी मधेशी मोर्चाले नाका खुलेको औपचारिक घोषणा गरेको छैन ।
केही दिन अघि केही छिनका लागि खोलिएको बीरगञ्ज रक्सौल नाका शुक्रबारदेखि फेरि खुले यता सयौं सवारी साधन आवतजावत गरेका छन्।
तर त्यही नाकाबाट पेट्रोलियम पदार्थको आवागमनमा जारी रोकावट रहस्यपूर्ण छ या त्यो प्राविधिक समस्या हो भन्ने सोमबार प्रष्ट हुनेछ।