गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा -

जापान, ३ जेठ, कुक भिषामा सात वर्षअघि जापान आएका पोखरा ढिकुरपोखरी–६ का ३८ वर्षीय बुद्धिबहादुर गुरुङको शव टोकियोबाट ३० किलोमिटर दूरीमा रहेको चिवा अञ्चलको नागारेया जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको छ । मृतकको हुलिया र पारिवारिक प्रमाणलगायतका आधारमा लामो अनुसन्धानपछि चिवा प्रहरीले आइतबार मात्रै पोखराका गुरुङ भएको पुष्टि गरेको हो । ढिलो गरी प्राप्त समाचारअनुसार तीन साताअघिदेखि सम्पर्कविहीन भएका गुरुङको शव मृत्यु भई सडेर सनाखत गर्न नसकिने अवस्थामा गत बिहीबार भेटिएको थियो । प्रहरीका अनुसार गुरुङको घाँटीमा गहिरो दाग देखिएपछि डिएनए परीक्षण गरिएको थियो । डिएनए र  परीक्षण रिर्पोटबाट आत्महत्या गरेको पुष्टि पछि शव आफन्तले जिम्मा लिएको प्रहरीले जनाएको छ । गुरुङले के कारणले आत्महत्या गरे भन्नेबारे खुल्न सकेको छैन । दुई छोराछोरी र श्रीमती रहेका गुरुङ हालैमात्र जापान आएकी श्रीमतीसँगै इवाराकीमा बस्दै आएका थिए । छोरा र छोरी पोखरा घरमै रहेको बताइएको छ । तमुधी जापानका पूर्वअध्यक्ष भीम गुरुङले मृतक गुरुङको शव मे २२ तारिक आइतबार बिहान ११ बजे जापानकै स्थानीय खासिवाको फुनेरल टान्सपोटेसन शव गृहमा अन्त्येष्टि गरिने जानकारी दिएका छन् ।रासस तस्विर: सांकेतिक -