माघ २०, २०७२- उनी निकै बेर घोरिए आफ्नो मूर्तिमा । उनको अनुहारमा घरी आश्चर्य त घरी रमाइलो भाव झल्किँदै थियो ।
मूर्तिकार नवीन सुवेदीको प्रदर्शनीमा गायक रामकृष्ण ढकालले आफ्नै मूर्तिलाई केन्द्रमा राखेर सेल्फी खिचे । उनको मूर्ति अवलोकन गदै रहेकाहरूले पनि त्यो सिको गरे ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नवीनको एकल मूर्तिकला प्रदर्शनी केही सातादेखि चलिरहेको छ । ‘मोहिनी’ प्रदर्शनीमा नवीनले रामकृष्णसँगै, गायक बाबु बोगटी, अभिनेत्री ऋचा शर्मा, गीतकार डा. कृष्णहरि बराल लगायत सेलिब्रेटीका मूर्ति बनाएका छन् । त्यस्तै, केही कलात्मक न्युड फिगर भएका मूर्तिहरू पनि प्रदर्शनीमा देख्न सकिन्छ ।
कन्सर्टका लागि अमेरिकामा साढे तीन महिनाजति बिताएका रामकृष्ण शुक्रबार मात्रै नेपाल फर्किएका हुन् । सोमबार उनी ग्यालरी पुगेका थिए । ‘यो मूर्ति बनाउँदा मैले पाँच दिनसम्म उभिनुपरेको थियो,’ उनले सुनाए ।
नवीनको कलाले आफूसमेत प्रभावित भएको उल्लेख गर्दै उनले यसलाई एउटा कलाकारले अर्को कलाकारलाई गरेको सम्मानका रूपमा लिएको बताए । उनी दर्शकहरूसँग आफ्नो मूर्तिबारे प्रतिक्रिया पनि लिइरहेका थिए ।
अमेरिकी कन्र्सटमा रामकृष्णले ३० भन्दा बढी स्टेट घुमेर ४० जति कार्यक्रम गर्न भ्याएको बताए । श्रोताहरूको प्रत्यक्ष सम्पर्कले आफूमा आफूलाई ऊर्जा मिल्ने गरेको उनले खुलाए । त्यस्तै, गीतमा आफूले अहिलेको पुस्तालाई हुने गरी फ्युजन गरे पनि आफ्नो पुरानै विशेषता बोकेका गीत नै श्राताहरूले बढी फर्माइस गर्ने गरेको उनले सुनाए ।
‘आधुनिक शैलीका गीत नै सुन्न रुचाउँदा रहेछन् मेरा फ्यानहरू,’ उनले थपे, ‘कन्सर्टमा पहिलेकै गीत बढी गाएँ ।’ उनले ‘बिहान उठ्नेबित्तिकै...’, ‘मन पराउने हजार भेटिन्छन्...’, ‘ओराली लागेको...’, ‘मलाई यो जिन्दगीले...’, र ‘बाँचुन्जेलीलाई...’ धेरै पटक गाउनुपरेको सुनाए ।
चाँडै ‘आवरण’ नामक एल्बम बजारमा ल्याउने तयारीमा रहेका रामकृष्णले अमेरिकामा हुँदा यसै एल्बमका दुई गीतको म्युजिक भिडियोसमेत बनाए । त्यो एल्बमलगत्तै छोरी रानी र आफू मिलेर गीत निकाल्ने सोचसमेत बनाएको सुनाए ।
नवीनको एकल प्रदर्शनी माघ २३ सम्म चल्नेछ । उनले दर्शकको आकर्षण बढेपछि प्रदर्शनी लम्ब्याएको बताए । तर मूर्ति व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने चुनौती यति बेला आइपरेको पनि उनले सुनाए । प्रदर्शनीमा १८ मूर्ति छन् ।
आफ्नो मूर्ति हेर्दै दंग रामकृष्ण!